प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार उक्त संख्यामा उजुरी दर्ता भएका हुन् ।
राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको असहमतिका बीच संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेको थियो । नेपालको न्यायिक इतिहासमा वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको यो पहिलोपटक हो ।
संसदीय सुनुवाइ विशेष समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म तोकिएको छ । समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे स्पष्ट आधार, प्रमाण र सबुतसहित उजुरी दिन १० दिनको समय दिएको थियो ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार मंगलबार समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ । त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण हुनेछ । समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने छ । सुनुवाइबाट अनुमोदन भएपछि नियुक्तिको बाटो खुल्नेछ ।