आजदेखि बजेट अधिवेशन, सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची

Yangle News
Yangle News
२०८३ बैशाख २८ गते
आजदेखि बजेट अधिवेशन, सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची

संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।

उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३: ४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्नेछन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुनेछन् ।