वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जना आरोपीको विवरण सार्वजनिक

Yangle News
Yangle News
२०८२ चैत्र २१ गते
वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जना आरोपीको विवरण सार्वजनिक

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३५२ जना आरोपीको विवरण सार्वजनिक गरेको छ ।

ठगीमा परेका श्रमिकले दिएको उजुरीका आधारमा गरेको अनुसन्धानपछि ३५२ जनाको नाम, ठेगाना र ठगी गरेको रकम सार्वजनिक गरिएको हो । जसमा आकर्षक रोजगारीको प्रलोभनमा युवाबाट ३६ करोड ५७ लाख रुपैयाँभन्दा धेरै ठगी भएको विवरण छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

विभागले ठगीमा परेको भए यथेष्ट प्रमाणसहित उजुरी दिन पनि आग्रह गरेको छ । विभागका महानिर्देशक मिरा आचार्यले नयाँ सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्राप्त निर्देशन तथा नेपाली श्रमिकको हकहित संरक्षणका लागि विभागले त्यसैअनुसार काम थालेको बताइन् ।

विभागले गएको चैत १५ मा सूचनामार्फत वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्र बिना वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम गरेमा कारबाही हुने चेतावनी दिएको थियो ।

त्यस्तै अभिमुखीकरण तालिमको शुल्क ७०० रुपैयाँ मात्र तोकिएको छ । त्योभन्दा धेरै शुल्क लिएको सूचना आएमा तालिम प्रदायक संस्थाको अनुमति स्वतः रद्द हुनेछ ।