अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध दुईदेखि तीन हप्ताभित्र अन्त्य हुन सक्ने बताएका छन् । उनले आफ्नो मुख्य लक्ष्य इरानलाई परमाणु हतियार विकास गर्न नदिनु रहेको र उक्त लक्ष्य पूरा भइसकेको दाबी गरेका छन् ।
ओभल अफिसबाट बोल्दै ट्रम्पले इरानसँग भएका सबै सैन्य तथा रणनीतिक क्षमता निष्क्रिय पार्ने काम अन्तिम चरणमा रहेको बताएका छन् । उनका अनुसार युद्ध अन्त्य गर्न अझै करिब दुई हप्ता वा केही दिन थप लाग्न सक्छ ।
ट्रम्पले सम्झौता भए युद्ध अझ छिट्टै अन्त्य हुन सक्ने संकेत पनि गरेका छन् । उनले इरान सम्झौता गर्न इच्छुक रहेको दाबी गर्दै वार्ताप्रति आशावादी देखिएका छन् । उनका अनुसार हालको नेतृत्व पहिलेभन्दा धेरै व्यावहारिक रहेको छ ।
यसैबीच, उनले होर्मुज जलडमरु मार्ग पुनः सञ्चालन गराउने जिम्मेवारी अन्य देशहरूको हुने बताएका छन् । ‘यदि अन्य देशहरूले तेल वा ग्यास लिन चाहन्छन् भने उनीहरूले आफैं उक्त मार्ग सुरक्षित गर्नुपर्छ’, उनले भने । उनले सो क्षेत्रमा अमेरिकाको प्रत्यक्ष संलग्नता नरहने पनि स्पष्ट पारे ।
ट्रम्पले अमेरिका दुई वा तीन हप्ताभित्र इरानबाट बाहिरिन सक्ने संकेत पनि दिएका छन् । उनले भनेका छन्, ‘हामी काम पूरा गर्दैछौं, सायद दुई हप्ताभित्र वा केही दिन थप लाग्न सक्छ ।’
यसैबीच, ट्रम्पले इरानसम्बन्धी महत्वपूर्ण जानकारी दिन बुधबार राति राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेको बताइएको छ ।