यही २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । समानुपातिकतर्फको मतगणना आज दिउँसो सकिएको निर्वाचन आयोगले जनाएको छ ।
पछिल्लो समय गोरखा-१ र इलाम-१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए । मतगणना सकिएसँगै निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।
समानुपातिक निर्वाचनतर्फ १ करोड ८ लाख ३५ हजार २७ मत गणनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ५९ हजार १७२, नेकपा (एमाले)ले १४ लाख ५५ हजार ८८५, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ११ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६८४ मत ल्याएको छ । अन्य दलले थ्रेसहोल्ड कटाउन सकेनन् ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कुल ५७ दलले भाग लिएका थिए । यसमध्ये उल्लिखित ६ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको छ । सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको छ ।
न्यूनतम मत सीमा नकटाउने दलमा जनमत समाजवादी पार्टी (जसपा) नेपालको एक लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ७१ हजार ५०१, जनमत पार्टीले ७९ हजार, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३३, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२, एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २३ हजार ८५१, मंगोल नेशनल अर्गनाइजेशनले २० हजार ८०६, एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १३ हजार ४४५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीको ९८०, स्वाभिमान पार्टीको आठ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०७, नेपाल जनता पार्टीको सात हजार १५३, राष्ट्रिय एकता दलको सात हजार ५०, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेलिनवादी) ले छ हजार १६२, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २४१, नेशनल रिपब्लिक नेपालले पाँच हजार १५७, नेपालका लागि नेपाली पार्टीले पाँच हजार सात, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले चार हजार ८२३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६६८, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले चार हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार ३१२, समाजवादी पार्टी नेपालको चार हजार २४८, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार २४८ प्राप्त गरेका छन् ।
नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९२५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार २६६, नेपाल जनमुक्ति पार्टीले दुई हजार १६२, जनअधिकार पार्टीले दुई हजार १०५, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका छन् ।
प्रत्यक्षतर्फ भने रास्वपाले १२५, कांग्रेसले १८, एमाले ८, नेकपा ८, श्रम संस्कृति ३ र राप्रपाले १ स्थानमा विजय हासिल गरेका छन् ।