रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका-२, टाकुराका दुई परिवारका सदस्यहरू रहेका छन् । उक्त वडाका वडाध्यक्ष मेक बहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा स्थानीय धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेका छन् । यी एउटै स्थानका दुई परिवारका सदस्यहरू हुन् ।
उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा रहेका थिए । पुस २७ गते उनीहरू आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले उल्लेख गरेका छन् । उनक अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन ।
आफ्ना वडावासी नागरिकको मृत्युपछि वडा कार्यालयले आज शोक बिदा घोषणा गरेको छ ।