चुनाव नसार्न सरकारलाई खबरदारी

Yangle News
Yangle News
२०८२ पुस ५ गते
चुनाव नसार्न सरकारलाई खबरदारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ का लागि तोकिएको निर्वाचन सारिए मुलुक फेरि अर्को राजनीतिक दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

कांग्रेस-एमाले समेत भित्रभित्रै चुनावको तयारीमा जुटिसकेकाले कुनै हालतमा चुनाव रोक्न नहुने उनको भनाइ थियो । नेकपाले शनिवार काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै प्रचण्डले चुनाव नसार्न सरकारलाई खबरदारी गरेका हुन् ।

उनले फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताए । भने, ‘सरकारले निर्वाचनको मिति सारे देश फेरि दुर्घटनामा पर्छ । चुनाव सारियो भने त्यो बेला नेपाली कम्युनिस्ट पार्टी रमिते हुनेछैन । ७७ वटै जिल्लाबाट, सबै पालिकाबाट नयाँ आन्दोलनको, समाजवादी विद्रोहको झण्डा बोकेर आउनेछौं । हामी चाहन्छौं तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न होस्,’ प्रचण्डले भने, ‘हामी सरकारलाई भन्न चाहन्छौं कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नहोस् । सरकारले निर्वाचनको मिति सार्ने, धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ । यदि, त्यसो गरियो भने हामी चुप बस्ने छैनौं ।’

प्रचण्डले आफूहरूको पार्टी जनयुद्धमार्फत अढाई सय वर्ष पुरानो राजतन्त्रलाई धराशायी बनाएको पार्टी भएकोले यो शक्तिलाई कम नआँक्न र खेलाँची नठान्न सरकारलाई चेतावनी दिए । ‘अहिले घोषणा भइसकेको निर्वाचन नै निकासका लागि सबभन्दा सहज विकल्प हो । जनता विस्तारै निर्वाचनको लागि तयार भइराखेको छ । राजनीतिक दलहरू कोही कोर्ट (अदालत)मा गए पनि मैले बुझेसम्म नेपाली कांग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ,’ उनले भने, ‘एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डवल स्टयान्डरको कुरा नगरौं, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔं । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यकता बन्न गएको छ ।’

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव नेपालले फागुन २१ गते नै चुनाव हुनुपर्ने बताए । उनले एकपटक आफ्नो पार्टीलाई मौका दिन आग्रहसमेत गरे ।

जेनजी आन्दोलनको बलमा गत भदौ २७ गते गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको छ ।