पूर्वसचिव अर्जुन कार्की पक्राउ

Yangle News
Yangle News
२०८२ कार्तिक ३० गते
पूर्वसचिव अर्जुन कार्की पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा ठगी र आपराधिक विश्वासघातको आरोपमा थप एकजना पूर्वअधिकारीलाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार नेपाल ट्रस्टको नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका-१, दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने क्रममा कागजात हेरफेर गरी बढी क्षेत्रफल लिजमा दिएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका हुन् ।

यस प्रकरणमा थप ३ वर्षका लागि निर्माण अवधि भनिएको जग्गा ३० वर्षका लागि लिजमा दिने सम्झौता मिलाइदिएको खुलेको छ । २०७४ साल जेठ १४ गते गरिएको उक्त करारमा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ बाहेक अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिएको, जसबाट नेपाल ट्रस्टमार्फत् राष्ट्रलाई दीर्घकालीन हानी हुने परिस्थिति सिर्जना गरिएको सीआईबीको ठहर छ ।

यस प्रक्रियामा संलग्न रहेकाहरूले गैरकानुनी रूपमा व्यक्तिगत लाभ लिएको ठहरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले बताएका छन् । यसै प्रकरणमा यसअघि तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई गत कात्तिक २१ गते सीआईबीले पक्राउ गरेको थियो ।