विश्वकप छनोटमा यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

Yangle News
Yangle News
२०८२ अशोज २६ गते
विश्वकप छनोटमा यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

आइसीसी टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएइलाई पराजित गरेको छ ।

एशोसियट राष्ट्रको एल क्लासिको मानिएको यो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

नेपालले दिएको १४१ रनको विजयी लक्ष्य प्रस्तुत पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । पहिलो विकेट सस्तैमा गुमाएको यूएईले दोस्रो विकेटको लागि गरेको ८१ रनको साझेदारीले यूएईलाई खेलमा फर्काएको हो । कप्तान मोहम्मद वासिम १ रनमा क्याच हुँदै पेभेलियन फर्किदा दोस्रो विकेटका लागि अलिशान सराफूले जोनाथन फिगिले ८१ रनको साझेदारी गर्दै यूएईलाई सहज अवस्थामा ल्याएका थिए ।

तेस्रो विकेटको रुपमा अलिशान सराफूको विकेट गएपछि भने यूएईको ब्याटिङ आक्रमण घट्यो । त्यसपछि भने अन्तिम ओभरमा ३ बलमा ३ रन चाहिएको अवस्थामा आक्रमक खेलिरहेका ध्रुव परासर १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै १९.४ मा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराको हातमा क्याच भए । १९.५ मा हैदर अलि रन आउट भए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।

Yangle News

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए । कप्तान रोहित पौडेलले २० रन, गुल्सन झाले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले १० रन बनाए । सन्दीप जोरा र सोमपाल कामी क्रमशः ४ र ६ रनमा अविजित रहे । यूएईका लागि बलिङमा मोहम्मद रोहिद, हैदर अलि, जाहिद अलि, हैदर अलि, हर्सिक कौशिक र ध्रुव परासरले १-१ विकेट लिए ।

नेपालले यूएईलाई हराउँदा विश्वकप खेल्ने सम्भावना बढेको छ । नेपालले समूह ‘बी’अन्तर्गत जापान र कुवेतलाई हराउँदै अविजित सुपर सिक्समा प्रवेश गरेको थियो । समूह ‘ए’ बाट यूएई पनि अविजित रुपमा सुपर सिक्स आएको हो । यूएईले समूह चरणमा । कतार र मलेसियालाई हराएको थियो ।

नेपालले सोमबार कतारसँग खेल्ने छ र त्यसमा विजय हात पारे फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने टी-ट्वान्टी विश्वकपमा स्थान लगभग निश्चित हुनेछ ।

Yangle News