नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै धुलो टक्टक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले ७० भन्दा बढी युवाको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आमसार्वजनिक सेवा नै अस्तव्यस्त भएको बताएका छन् । २३ र २४ गतेका घटनाहरुको स्वतन्त्र, निश्पक्ष र उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन अध्यक्ष दाहालले सरकारसँग माग गरे । उनले जेनजी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गरे ।
उनले जेन-जी आन्दोलनको बलमा संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भए पनि त्यस अवसरबाट जेनजी चुकेको बताए । जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित भएको उनले टीप्पणी गरे । शासकीय स्वरुप बदल्ने र इतिहास रच्ने मौका गुमेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको भन्दै अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको दाबी गरे । उनले चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुनसक्ने आशंका व्यक्त गरे ।
अध्यक्ष दाहालले देश अहिले इतिहासकै गम्भीर संकटमा परेको उल्लेख गर्दै पुर्खाहरुले बचाएको नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भिर प्रश्न खडा भएको बताए ।