त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभए सम्मका लागि विमानस्थल बन्द रहने जानकारी गराएको हो ।
उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान-अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले बन्द गर्नुपरेको सूचनामा भनिएको छ ।
विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन हुन साथै विमानस्थल खुलेको सूचना पाएपश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउन हुन सम्पूर्ण यात्रु महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं, सूचनामा भनिएको छ, यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं । यसअघि विमानस्थल आज १२ बजेसम्मका लागि बन्द गरिएको थियो ।
निजी वायुसेवा कम्पनीहरूले पनि आजदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ । निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जनाएका छन् ।
मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जनाएको छ ।