नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध भएकी छन् । इत्तिहादले प्रीतिलाई एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि भित्र्याएको हो ।
साउन ६ गते नै जोर्डन पुगे पनि उनलाई क्लबले सोमबार मात्रै सार्वजनिक गरेको हो । सन् २०१८ मा स्थापना भएको इत्तिहातले जोर्डन महिला प्रो-लिग खेल्दै आएको छ । क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्ध भएकी छन् ।
यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो । क्लबले गत वर्ष पनि एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो । यस पटक समूह ‘सी’मा इत्तिहादसँगै मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिस्तानको सड्युशोर एसआइ एसियागोल छन् । यो समूहको खेल मलेसियामा हुनेछ । इत्तिहादले अगस्ट २५ मा लायनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी क्लबले अगस्त २८ मा केलाना र ३१ मा सड्युशोरको सामना गर्नेछ ।
प्रीति सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छन् ।