पूर्वमन्त्री बस्नेत भ्रष्टाचारमा मुछिएको ‘टेरामक्स प्रकरण’ के हो ?

Yangle News
Yangle News
२०८२ जेष्ठ १ गते
पूर्वमन्त्री बस्नेत भ्रष्टाचारमा मुछिएको ‘टेरामक्स प्रकरण’ के हो ?

टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको औंल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । त्यस्तै दुई कम्पनीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक सन्दिप अधिकारीलाई प्रतिवादी बनाइएको छ । परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका स्थानीय प्रतिनिधि भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी ठूलो रकम घोटाला भएको अख्तियारको ठहर छ ।

तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकारबाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी प्रचलित कानुनविपरीत कार्य गरेको अख्तियारको ठहर छ । विदेशबाट आउने फोनकलको अवैध वाइपास गरी राजस्व छलीको नियमन गर्न दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गरेको थियो ।

टेरामक्स प्रकरण

टेरामक्स, दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस डेटाको कुल भोल्युम परीक्षण प्रविधि हो । यस प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ । भेनराइजले ६ महिनाभित्र कार्य सम्पन्न गर्ने गरी भएको सम्झौताअनुसार २०७९ भदौमा एक अर्ब १५ करोड मूल्य देखाइएका उपकरण भित्र्याएसँगै सामानको मूल्यमा प्रश्न उठाउँदै विमानस्थल भन्सारले सामान जाँचपास नगरी रोकिदिएको थियो ।

टेरामक्सका नाममा ल्याइएका २ वटा ल्यापटपको मूल्य प्रतिगोटा ५० हजार अमेरिकी डलर देखाइएको थियो । त्यस्तै सर्भर भनिएको सामान सामान्य नेटवर्किङ स्विचको मूल्य प्रतिगोटा मूल्य ७९ हजार ९ सय अमेरिकी डलर देखाइएको थियो । यो सामान १ सय ९ वटा ल्याइएको छ । स्टोरेज र प्रोसेसिङ युनिटबिनाका तार मात्रै भएको मालवस्तुलाई सर्भर भनेर छक्काएको भन्सारले निष्कर्ष निकालेको थियो । अधिक बीजकीकरण गरेर सामान ल्याइएको प्रतिवेदनका आधारमा भन्सारले करिब ३२ करोड रुपैयाँ धरौटी लिएर मात्र सामान छाडेको थियो ।

भन्सारले २०७९ माघ १० मा अख्तियार, राजस्व र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा राष्ट्र बैंकलाई पत्र पठाएर टेरामक्स उपकरण खरिद तथा भुक्तानीमाथि छानबिन गर्न भनेको थियो । पहिलो चरणकै उपकरण छानबिनमा तानिएपछि करिब दुई अर्बका थप सामानको आपूर्ति रोकिएको थियो । भन्सारको पत्रका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएपछि यो प्रकरणसँग सम्बन्धित व्यक्ति अनुसन्धानमा तानिएका थिए ।

बस्नेत निलम्बन

भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेस सांसद बस्नेतको सांसद पद स्वत: निलम्बनमा परेको छ । बस्नेत २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १७ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दायर भएमा स्वत: निलम्बनमा पर्ने व्यवस्था छ ।

बस्नेतको पद निलम्बन भएको सूचना संसद्‌मा सुनाइएको छ । सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्बनको अख्तियारबाट प्राप्त सूचना सुनाएका हुन् ।