सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको नियुक्ति गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगका पदाधिकारीहरूको नियुक्त गरेको हो । समितिको सिफारिसबमोजिम उनीहरूलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र सदस्यमा अच्युत भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्या ओझालाई नियुक्त गरिएको छ ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ । त्यस्तै सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली रहेका छन् । उनीहरूको कार्यकाल चार वर्ष रहने र तलब, भत्ता तथा सेवा सुविधा राष्ट्रिय मानव अधिकार आयोगसरह हुने मन्त्री गुरुङले बताए ।
यसअघि द्वन्द्वपीडितहरूले भागबन्डामा पदाधिकारी छनौट गर्न खोजिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै प्रक्रियामा असहमति जनाएका थिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग
(१) महेश थापा, अध्यक्ष
(२) अच्युत प्रसाद भण्डारी, सदस्य
(३) टिका प्रसाद ढकाल, सदस्य
(४) पदम बहादुर शाही, सदस्य
(५) कुमारी कौशल्य ओझा, सदस्य
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
(१) लिलादेवी गड्तौला, अध्यक्ष
(२) गोपालनाथ योगी, सदस्य
(३) अग्निप्रसाद थपलिया, सदस्य
(४) सिर्जना पोखरेल, सदस्य
(५) विनिता नेपाली, सदस्य