‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार बाँसबारी क्लबलाई २–० ले पराजित गर्दै प्लानिङ ब्वाइजले नेपालको शीर्ष डिभिजन क्लबमा आफ्नो स्थान बनाएको हो ।
बाँसबारीलाई हराएसँगै प्लानिङ बोइजले ११ खेलबाट २७ अंक जोडेको छ । समान ११ खेलबाट बाँसबारीको भने १५ अंक छ । प्लानिङ ब्वाइजको जितमा पूजन थापाले गोल गरे भने अर्को गोल आत्मघाती गोलस्वरूप उपहार पायो ।
अंकतालिकाको शीर्षमा रहँदै प्लानिङ ब्वाइजले ए डिभिजन मा आफ्नो नाम दर्ता गराउँदै गर्दा दोस्रो स्थानमा भने श्री भगवती क्लब रहेको छ । भगवतीको १० खेलमा २२ अंक रहेको छ ।
१४ क्लब सम्मिलित बी डिभिजन लिगको पुछारमा सरस्वती युथ क्लब र नयाँ बस्ती युथ क्लब रहेका छन् । यी दुई क्लबलाई रेलिगेसनको खतरा रहेको छ ।