विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनका लागि नेपाल आएका हुन् ।
उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारी लगायतले स्वागत गरेका थिए । उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनले जापान र दक्षिण कोरियामा सम्पन्न सन् २००२ को फिफा विश्वकप जितेका थिए ।
उनले ब्राजिलका १२५ खेलमा १० गोल गरेका छन् । व्यवसायिक करियरमा अधिकांश समय स्पेनिस क्लब रियाल मड्रिडमा बिताएका कार्लोसले इन्टर मिलान, फेनरबाखजस्ता क्लबबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।