मादी (संखुवासभा)- मादी नगरपालिकाको १ नम्बर वडामा पर्ने उम्लिङका बासिन्दाको आफ्नै पीडा छ। लामो समयदेखि गाउँ जोड्ने सडकको ट्रयाक ओपन गरिदिन उनीहरूले नेताहरूलाई हार गुहार गरे। तर, कसैले सुनेनन्। ०७० सालमा कांग्रेस युवा नेता दीपक खड्कालाई भोट दिए, उनैले सांसद विकास कोषमार्फत् गाउँसम्म सडक जोडिदिए।
तर, ०७४ सालको प्रतिनिधिसभा चुनावमा उनलाई एमालेका राजेन्द्र गौतमले पराजित गरे। त्यसपछि ट्रयाक ओपन भएको धुले सडकको कन्तविजोग भयो। गौतमलाई सडकलाई ग्राभेल गरिदिन उनीहरूले अनुनय विनय गरे। र, उनले सुनेको नसुन्यै गरिदिए।
मादी नगरपालिकाका तत्कालीन मेयर विदुर लिङ्थेपसँग पनि उनीहरूले गुहार मागे। उनले स्थानीय स्वास्थ्यचौकी उदघाटनमा आउँदा भनिदिए, ‘हामी कसैको ससुराली जाने सडक बनाउँदैनौं।’ उनै लिङ्थेप अहिले प्रदेशसभाका प्रत्यक्ष उम्मेद्वार बनेका छन्, एमालेबाट।
पारिपट्टि धर्मदेवी नगरपालिकाको मदानसिंहसम्म बस चल्छ, वारिपट्टी मादी-१ मा ट्रयाक्टर चल्न पनि मुस्किल छ।
यसपटक उनीहरू दीपक खड्कालाई नै मत दिने पक्षमा छन्। उनले मात्र विकास बुझेकामा प्रष्ट देखिन्छन् स्थानीय बासिन्दा।
खड्काले चुनाव हारेकै कारण आफ्नो गाउँको विद्यालय उच्च मावि बन्न नसकेकामा उनीहरू प्रष्ट भएका छन्। उनीहरूले मादीका तत्कालीन मेयर लिङ्थेपसँग उच्च मावि बनाइदिन अनुनय गरे। तर, उनले जवाफ दिए, ‘यहाँ स्कुल चल्दैन, स्कुस रोप्नूस्।’
यो क्षेत्र गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले क्षेत्रमा पर्ने चौकी बजारको ठ्याक्कै मुनि पर्छ। र, चौकी बजार रहेको मादी-१ म पर्छ। यहाँको काउली र बन्दाकोपी यस भेगकै स्वादिलो मानिन्छ। नगदे बालीलाई बजारमा पुर्याउन उनीहरूलाई बाह्रैमास चल्ने सडक चाहिएको छ। तर, यसअघिका जनप्रतिनिधिहरूले सडक बनाइदिन कुनै चासो दिएनन्। त्यसैले सडक बनाइदिने दीपक खड्कालाई भोट दिएर गाउँमा समृद्धि भित्र्याउने पक्षमा छन्।
कांग्रेस जिल्ला सभापति खड्का पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेद्वार छन्, प्रतिनिधिसभामा। गठबन्धनबाटै प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेद्वार छिन्, एकीकृत समाजवादीकी नेतृ सरिता खड्का। खड्का ०६४ सालमा संविधानसभा सभासद बनेका स्वर्गीय डम्बर खड्काकी श्रीमती पनि हुन्।
यसभेगमा मोबाइलको टावरको पनि समस्या छ, इन्टरनेट त चल्ने कुरै छैन। विकासको आधारभूत सुविधा नै पुगेको छैन यो गाउँमा। त्यसैले यहाँका मतदाताको चुनावी एजेन्डा हो, विकास।