च्याम्पियन्स लिग : रियल म्याड्रिडको लेट कमब्याक

गणेश पौडेल
२०७९ अशोज २६ गते
च्याम्पियन्स लिग : रियल म्याड्रिडको लेट कमब्याक

युइएफए च्याम्पियन्स लिग समुह चरणको चौथो खेल अन्र्तगत युक्रेनी क्लब साख्तर डोनेस्कसँग भएको खेलमा जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले अन्तिम समयमा गोल गरेपछि म्याड्रिड हारबाट जोगिएको छ ।

वार्सजावामा मंगलबार राति भएको खेलमा घरेलु टोलीका ओलेकसान्डर जुभकोभले गोल गर्दा रियलका रुडिगरले इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा गोल गर्दै रियल डोनेस्कसँग १–१ गोलको बराबरी खेल्दै समुह चरणमा अपराजित रहन सफल भएको हो ।

गोल रहित बराबरीमा रोकिएको पहिलो हाफ निकै प्रतिस्प्रधात्मक भएको थियो । तर दोस्रो हाफको सुरुवातमै घरेलु टोली साख्तरले अग्रता लिएको थियो । साख्तरका लागि ४६औं मिनेटमा बोगडानको पासमा जुभकोभले गोल गर्न सफल भएका थिए ।

तर, साख्तरले त्यसलाई अन्तिमसमयसम्म जोगाउन नसक्दा जितबाट वञ्चित बन्न पुग्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा रुडिगरले टोनी क्रुसको पासमा हेडरमार्फत गोल गर्दै रियललाई हारबाट जोगाए । उक्त गोल गर्ने क्रममा उनी घाइते हुन पुगेका थिए ।

समूह ‘एफ’ मा अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । समान खेलबाटै लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा साख्तर ५ अंक जोडेर तेस्रो तथा १ अंक जोडेको सेल्टिक पुछारमा छ ।

यस बराबरीसँगै गत सिजनको विजेता तथा सर्वाधिक १४ पटकको च्याम्पियन रियल म्याड्रिड समूह चरणको दुई खेल बाँकी छँदै यस सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

249 views