संसद् आह्वान गर्न कांग्रेस–एमाले नेताहरूको सभामुखसँग आग्रह, छिटो बैठक बोलाउने प्रतिबद्धता

Yangle News
Yangle News
२०८३ कार्तिक १७ गते
संसद् आह्वान गर्न कांग्रेस–एमाले नेताहरूको सभामुखसँग आग्रह, छिटो बैठक बोलाउने प्रतिबद्धता

काठमाडौं । प्रतिपक्षी दलका नेताहरुले संसद आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसंग आग्रह गरेका छन् ।

मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरुले सभामुख अर्यालसंग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद आह्वान गर्न आग्रह गरेका हुन् । भेटवार्तामा सभामुख अर्यालले छिटो संसद बोलाउने प्रतिवद्धता जनाउनुभएको उनीहरुले जनाएका छन् ।

सभामुखसंगको भेटपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हाल बाहिर आएका अत्यन्तै संवेदनशील विषयहरूमा संसद्भित्रैबाट व्यापक छलफल गर्नुपर्ने र उठेका बिषयहरुलाई लामो समयसम्म अल्झाएर राख्नुको साटो संसद्बाटै छलफल गर्नुपर्ने बताउनुभयो । गम्भीर विषयहरूमा संसद्लाई छिटोभन्दा छिटो बोलाएर निकास खोज्नुपर्नेमा सभामुखको ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । उहाले संसद् छल्ने गरी अध्यादेशमार्फत धेरै कुराहरूमा हस्तक्षेप गर्ने र लोकतन्त्रका मर्ममाथि प्रहार गर्ने काम भइरहेकाले पनि संसद् चाडो आह्वान हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाले कर्मचारीहरूलाई कार्यस्थलबाट उठाएर प्रधानमन्त्री कार्यालय वा अन्यत्र लैजाने र यातना गृह जस्तो अनुभूति गराउने परिदृश्यको निकास पनि संसद्बाटै खोज्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले संसद् नरहेको अवस्थामा विभिन्न समस्याहरू र विकृतिहरू प्रकट भइरहेको अवस्थामा तत्काल संसद आह्वान हुनुपर्ने बताउनुभयो । उहाले सरकार, प्रशासन, न्यायपालिका र राजनीतिक दलहरूमा बिचौलियाको बिगबिगी बढेकाले त्यसलाई निरुत्साहित गर्ने र खोजी मुख्य जिम्मेवारी राजनीतिक दलहरुको भएको उल्लेख गर्नुभयो ।

Yangle News

उहाँले न्यायाधीशमाथि उठेका प्रश्नको अध्ययन तथा छानबिन न्याय परिषद्, सर्वोच्च अदालत वा संसद्को समितिको माध्यमबाट गर्न सकिने बताउनुभयो । यसअघि सोमबार बसेको बिपक्षी दलको बैठकले संसद आह्वानका लागि सभामुखसंग आह्वान गर्ने निर्णय गरेको थियो ।