नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल-कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा प्रवेश गराउने समय आएको उल्लेख गरे । ‘नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानले दुवै देशको अर्थतन्त्रबीच विश्वास र आत्मीयता निर्माण गरेको छ,’ अध्यक्ष ढकालले भने ।
अध्यक्ष ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक्स क्षेत्रमा कतारको विश्वव्यापी क्षमता उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे । उनले सन् २०२३ अक्टोबरमा कतारका अमिर महामहिमको नेपाल भ्रमणका क्रममा भएको सहमति स्मरण गराउँदै नेपाल-कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै यसलाई छिट्टै अन्तिम रुप दिनुपर्ने बताए । ‘नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ । अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौं,’ उनले भने ।
अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद् बीटूबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यवसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउका लागि प्रभावकारी मञ्च हुने धारणा राखे । उनले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक अवसरहरू उपलब्ध रहेको जानकारी दिँदै नेपाल लगानीका लागि खुला रहेको बताए ।
विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा-आधारित उद्योगसम्म फैलिएको जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेकोमा जोड दिए । यस्तै, पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन, साथै विमाननसम्बन्धी सेवामा कतारी लगानीकर्ताको उल्लेखनीय भूमिका हुन सक्ने अध्यक्ष ढकालले बताए ।
सो अवसरमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले यो भेटवार्ताले नेपाल-कतार आर्थिक साझेदारीलाई थप मजवुत बनाउने बताए ।