नेकपा एमालेका केन्द्रीय सदस्यसहित सबै पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको नतिजा सार्वजनिक भएको हो ।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका छन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए । जसमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेल ५६४ मतमा सीमित भए ।
महासचिव पदमा ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन् । उनले १ हजार २ सय २८ मत प्राप्त गर्दा ईश्वर पोखरेल प्यानलका सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत पाए । शंकर पोखरेल पनि लगातार दोस्रो कार्यकालका लागि महासचिव निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदमा पाँचजना निर्वाचित भएका छन् । पृथ्वी सुब्बा गुरुङले १ हजार ७ सय ३७, विष्णु प्रसाद पौडेलले १ हजार ६ सय ७५, रामबहादुर थापा ‘बादल’ले १ हजार ५ सय १६, गोकर्णराज विष्टले १ हजार ३ सय ६८ र रघुजी पन्तले १ हजार २ सय ५८ मत प्राप्त गरे । यस पदमा गुरुप्रसाद बराल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य पराजित भए ।
उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टले १ हजार ४ सय ५२, महासेठले १ हजार ३ सय ६८ र भट्टराईले १ हजार ३ सय ४८ मत प्राप्त गरे । यस पदमा विष्णुप्रसाद रिमाल, आनन्द प्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम पराजित भए ।
सचिव पदमा नौ जना निर्वाचित भएका छन् । लोकप्रिय मतमा सबैभन्दा अगाडि महेश बस्नेत रहे । बस्नेतका अलावा पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल सचिवमा विजयी भए । यी सबै अध्यक्ष ओली प्यानलका हुन् । बस्नेतले १५४४, अर्यालले १५३०, विश्वकर्माले १५०६, राईले १५०३, अधिकारीले १२३१, कार्कीले १३३७, कँडेलले ११८५, भट्टराईले ११८१ र ढकालले ११०८ मत पाए ।
यस पदमा गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्नि प्रसाद खरेल, विनोद प्रसाद ढकाल, कृष्ण गोपाल श्रेष्ठ, पेम्बा लामा, लाल बाबु पण्डित, इन्द्रलाल साप्कोटा र पुरुषोत्तम पौडेल पराजित भएका छन् ।
महाधिवेशनमा १९ मध्ये १७ पदाधिकारी ओली प्यानलबाट आएका छन् । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए ।