‘मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु भनेर सरकारले धाक लगाइरहेको छ’

Yangle News
Yangle News
२०८२ अशोज ११ गते
‘मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु भनेर सरकारले धाक लगाइरहेको छ’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरूलाई देश छोड्न नसकिने दावी गरेका छन् ।

शनिवार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताए । पासपोर्ट रोक्ने भन्ने भ्रम फैलाइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पारे ।

देश सबै नेपालीहरू मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गरे ।

केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाऊँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो कि होइन भन्दै प्रश्न गरे ।

ओलीले भने, ‘अहिले सरकार विभिन्न हल्ला गरिरहेको छ । पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं । के सोच्या छ ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउँछौं । देशलाई फेरि पनि सुशासनमा ल्याउँछौं, शान्ति सुव्यवस्थामा ल्याउँछौं ।’

अध्यक्ष ओलीले सरकार यिनीहरूमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुरा गरेर धाक लगाइरहेको बताए । सरकारका कर्तव्य केही हुन्छन् कि हुँदैनन् भन्दै प्रश्न गरे । सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे ।

उनले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् । ‘म अहिलेको जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन । यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो,’ उनले भने । जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको ओलीको भनाइ थियो । उनले आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिए ।

अध्यक्ष ओलीले एमालेले सधैं सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको जिकिर गरे ।