उर्जामन्त्रीका १०० दिन : उर्जा क्षेत्रको विकासका लागि नयाँ मार्गचित्र तयार भएको दावी

Yangle News
Yangle News
२०८१ कार्तिक ६ गते
उर्जामन्त्रीका १०० दिन : उर्जा क्षेत्रको विकासका लागि नयाँ मार्गचित्र तयार भएको दावी

वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा देशको उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार गरी स्वीकृतका लागि मन्त्रीपरिषद्मा पेश गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको १०० दिनको अवसरमा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उर्जा क्षेत्रको योजनावद्ध विकासका लागि नयाँ मार्गचित्र र कार्ययोजना तयार गरी मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिए । मन्त्री खड्काले सो योजनाले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उर्जा उत्पादनका आन्तरिक स्रोतको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न र अन्तरदेशीय विद्युत व्यापारका लागि सम्भाव्य प्रतिफल प्राप्त गर्न सहज हुने दाबी गरे ।

सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको र त्यसका लागि ४६ खर्बभन्दा बढी लागत लाग्ने अनुमान उनले जानकारी दिए । उनले आफूले उर्जा मन्त्रालय सम्हालेको एकसय दिनको अवधीमा देशभर परेको वर्षाका कारण उर्जा र सिंचाई क्षेत्रमा ठूलो क्षति पुगे पनि वर्तमान सरकारको १०० दिनमा लक्षित क्रियाकलाप र अतिरिक्त क्रियाकलापतर्फ ९८ प्रतिशत लक्ष्य हाँसिल गरिएको उल्लेख गरे ।

उर्जामन्त्री खड्काले १०० दिनको अवधिमा जल तथा मौसम विज्ञान नीति–२०८१  नेपाल सरकारबाट स्वीकृति भई कार्यान्वयनमा ल्याएको, जलस्रोत तथा सिंचाई क्षेत्रमा अध्ययन अनुसन्धान कार्यका लागि मापदण्ड तयार गरी स्वीकृति गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि मन्त्रीपरिषद्मा पेश गरिएको बताए ।

वर्तमान सरकारको १०० दिनको अवधिमा गत असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभेलपमेन्ट वोर्ड एनटिपीसी विद्युत व्यापार निगम भारतबीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएको मन्त्री खड्काले बताए । यस्तै, सोही अवधीमा सुख्खायामको विद्युत मागलाई मध्यनजर गरी भारतसँग २३० मेगावाट विद्युत आयतका लागि सम्झौतासमेत गरिसकिएको जानकारी दिए ।

यसैगरी, चिलिमे हब जिआईएस सबस्टेशन र त्रिशुली हब हाईव्रिड जिआईएस सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुका साथै मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट बाह्रबिसे सवस्टेशनसम्मको सिंगल सर्किट प्रसारण लाइएन निर्माण सम्पन्न भएको बताइएको छ । यस अवधिमा अन्य धेरै जलविद्युत आयोजनाको निर्माण सम्मपन्न गरि सञ्चालनमा अएको, आयोजना निर्माण सुरु गरिएको तथा स्तरउन्नति र क्षमता अभिबृद्धिले गति लिएको उनले दाबी गरे ।

यसैबीच, निजी क्षेत्रको लगानीमा ८८ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण ग्रीडमा आवद्ध गरी विद्युत आपूर्ती प्रणालीलाई थप सुदृढ गरिएको बताइएको छ ।

यस्तै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य खानेपानी तथा सिंचाई पम्प जडान कार्य, केन्द्रमार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनीग्रिडबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जडान गरी करिब ३०० घरधुरीमा विद्युत सेवा सञ्चालन कार्य सम्पन्न भएको छ ।

जलस्रोत तथा सिंचाई विभागबाट यस अवधिमा सतह तथा भूमिगत सिंचाईमार्फत थप करीब २६६ हेक्टर जमिनमा सिंचीत क्षेत्र विस्तार, देशका विभिन्न नदी तथा खोलामा विभागबा करिब ५ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न गरी करिब ४।५ हेक्टर जग्गा उकास भएको बताइएको छ ।

पत्रकार सम्मेलनमा उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले मुलुकको आर्थिक वृद्धिको सम्वाहकको रुपमा रहेको उर्जा क्षेत्रलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रमार्फत मुलुकलाई समृद्ध, सवल  समुन्नत बनाउन आफूहरु लागिरहेको उनको भनाई थियो ।

150 views