दुई दिनयताको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव अत्यधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्यूसेक पानी बगिरहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेसँगै निरन्तर अनुगमन गरिरहेको बताए । आफूहरूको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसाग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ ।